मधेश केन्द्रित दलहरुले मनाए बलिदानी दिवस

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित मधेश केन्द्रित दलहरुले विभिन्न कार्यक्रम गरी १८औँ बलिदानी दिवस मनाएका छन् ।

शनिबार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो ।

सो अवसरमा बोल्दै लोसपाका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताए । उनले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको आरोप लगाए । 

उपाध्यक्ष गुप्ताले वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन गर्न माग पनि गरे ।

शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरुले बलिदानी दिवसको रुपमा मनाउने गर्दछन् ।

प्रतिक्रिया