मानव सेवा भन्दा ठूलो धर्म अरू हुन सक्दैन : मन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन् । 

बेँसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उहाँले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताए । 

“धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भने, “समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।   

मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे ।

उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए । “प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया