अमेरिकामा टिकटक बन्द हुने भन्दै आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश

एजेन्सी । भिडियो शेयरिङ एप टिकटकमा चर्चित भएका व्यक्तिहरूले अमेरिकामा टिकटक प्रतिबन्ध अघि आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश दिँदै भिडिओहरू पोस्ट गरिरहेका छन्।

 अमेरिकी टिकटकरले टिकटकमा नहुँदा आफ्नो महत्वपूर्ण रूपमा आम्दानी गुम्ने बताएकी छिन् । टिकटकमा उपलब्ध हुने शैक्षिक सामग्री गुम्दा त्यसले समुदायमा ठूलो नोक्सानी पुर्‍याउने उनीहरुको भनाई छ ।
केही प्रयोगकर्ताहरूले उनीहरूले उत्पादन गर्ने सामग्रीहरू हेर्न अर्को एपमा उपलब्ध हुने जानकारी पनि दिइरहेका छन्।

त्यसमा अर्को चिनियाँ भिडिओ शेअरिङ एप रेड नोट पनि रहेको छ। त्यो अमेरिकामा अहिलेसम्म सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको एप हो।

भोली आइतवारदेखि टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध कानून लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको हो । अमेरिकामा टिकटक निकै लोकप्रिय छ ।

अहिले अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् । नयाँ निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  सपथ ग्रहण पछि ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित गर्न कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेका बताइएको छ । उनले आगामी सोमबार जो बाइडेनलाई बिदाइ गर्दै राष्ट्रपति पदको सपथ लिदैछन् ।  टिकटकमाथि प्रयोगकर्ताको डाटाको दुरुपयोग र चिनियाँ सरकारसँगको सम्बन्ध रहेको आरोप लागेको छ ।

प्रतिक्रिया