अबको निर्वाचनमा पहिलो दल बन्न माओवादीलाई कसैले रोक्न सक्दैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभामा बोल्दै उनले २०८४ सालको निर्वाचनमा पहिलो दल बन्न माओवादीलाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् ।
गत मंसिरमा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको दाबी गर्दै उनले भने, “हामीले २०७९ सालको निर्वाचनमा १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ । अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।”
गत मङ्सिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उनले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत सङ्ख्या बढाएर पूर्वले विरोधीहरूलाई ठुलै जवाफ दिएको बताए ।
देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे ।
प्रतिक्रिया