हाम्रो पार्टीका ३२ जनाले बानेश्वरमा आगो बाल्नेछन् : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले जनअपेक्षा अनुसार काम नगरे आफ्नो पार्टीका ३२ जना सांसदले बानेश्वरमा आगो बाल्ने जिकिर गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, “हाम्रा ३२ जनाले अब बानेश्वरमा आगो बाल्नेछन्, विपक्षीहरु एकजुट भएका छन् । सदन बोलाएन भने संविधानमा व्यवस्था छ, हामी विशेष अधिवेशन बोलाउने तयारी गरेका छौं । हामी सडकमा पनि हुनेछौं । हामीले बोलाएर संसद बसेको पहिलो दिनमै त्यहाँ आगो बल्नेछ ।”

दुई थिहाइको सरकार भएर पनि संसद् बोलाउन डराएको उल्लेख गर्दै सापकोटाले भने, “दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर र संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।”

उनले सरकारले भ्रष्टाचार गर्नेहरुको संरक्षण गरेको आरोप लगाउँदै भने, “भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको छ ।”

प्रतिक्रिया