घर जग्गाको कारोबार लयमा फर्किँदै
काठमाडौं । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व बढेको छ ।
गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ । विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६ सय ६५ सङ्कलन भएको छ ।
यस्तै, रजिस्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ प्राप्त भएको छ। काठमाडौँ उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजश्व सङ्कलन गरेको छ ।
सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार सात सय ३२ रुपियाँ राजश्व सङ्कलन गरेको छ । गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन भएको थियो ।
प्रतिक्रिया