रवि लामिछानेमाथि थुनछेक बहस जारी
काठमाडौं । सकहारीको बचत रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस जारी छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजालसमा लामिछानेलाई थुनामा पठाउने कि नपठाउने भन्ने बारेमा थुन छेक बहस भइरहेको हो ।
हिजो आइतबार लामिछानेको बयान सकिएपछि आज थुनछेक बहस भैरहेको हो । हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको थियो । आइतबार बयान सकिएपनि सरकारी वकिलले मिसिल अध्ययन गर्न बाँकी रहेको भनेपछि थुनछेक बहस हुन सकेको थिएन ।
लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । आज थुनछेक बहस सकिए आजै आदेश आउने सम्भावना छ । लामिछानेविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछाने पुस २६ गते साँझ काठमाडौं आइपुगेका थिए । स्वर्णलक्ष्मीबाट ६ सय ९० बचत कर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया