रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख सङ्कलन
तनहुँ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि २९ लाख सङ्कलन भएको छ ।
दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हाल सम्मरू २९ लाख सङ्कलन भएको हो ।
विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ । रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य बमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिका बाट सहयोग प्राप्त भइसकेको र केही पालिका बाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले जानकारी दिए ।
प्रा. डा. गौतमका अनुसार २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ । गौतमका अनुसार व्यास नगरपालिका बाट पाँच लाख, बन्दीपुर गाउँपालिका बाट पाँच लाख, म्याग्दे गाउँपालिका बाट पाँच लाख, भानु नगरपालिका बाट चार लाख, भिमाद नगरपालिकाबाट दुई लाख, घिरिङ गाउँपालिकाबाट ५० हजार प्राप्त भइसकेको छ ।
शुक्लागण्डकी नगरपालिका बाट तीन लाख, देवघाट गाउँपालिका बाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिका बाट दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।
रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोष बाट प्राप्त ब्याज रकम बाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा. डा. गौतमको भनाइ छ । उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”
सोबमोजिम रेडक्रस सोसाइटीले जिल्लाका सबै पालिकालाई आग्रह गरेबमोजिम नौवटा स्थानीय तह बाट सहयोग भएको प्रा. डा. गौतमले बताए । रक्तसञ्चार केन्द्र नियमित रूपमा सञ्चालन, रेखदेख तथा अनुगमनका लागि गौतमको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ ।
दमौली अस्पतालमा मिर्गौला डायलासिसका बिरामी, सुत्केरी महिला र अन्य घाइतेलाई रगतको माग हुँदा पूर्ति गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अक्षयकोषमा रकम सहयोग गर्ने पालिकालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेलाई सम्मान गरेको छ ।
समन्वय समितिका प्रमुख वाग्लेले रक्तसञ्चार केन्द्रले सदरमुकाम स्थित दमौली अस्पतालमा रगतको आवश्यकता पर्ने जो कोहीलाई सहयोग हुने बताए । व्यास नगरपालिकाका प्रमुख न्यौपानेले अक्षयकोषमा रकम वृद्धि गर्न सबै निकाय बाट सहयोगको आवश्यकता रहेकामा जोड दिए ।
रासस
प्रतिक्रिया