काठमाडौ । नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदैछ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । जन्मने बित्तिकै लगाइने बीसीजीका साथै ६ हप्ता, १० हप्ता, १४ हप्ता, ९ महिना, १२ महिना र १५ महिनामा लगाउनु पर्ने नियमित खोप छुटेकालाई आज खोप लगाउन लागिएको हो । यसअघि वैशाख १५ गते नियमित खोप लगाइएको थियो । खोपले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मदेखि पाँच वर्षसम्मको उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप दिने गरिन्छ ।
नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै
