काठमाडौ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्न सुरू गरेको छ । समितिले शर्मासँग लिएको बयान, कर्मचारीहरूसँगको सोधपुध र सिसिटिभी फुटेजको आधारमा समितिले प्रतिवेदन लेख्न थालेको हो । अनुसन्धानको क्रममा समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी, मन्त्रालयका अन्य कर्मचारीहरु र अनधिकृत व्यक्तिको संलग्नता भएको भनेर खबर लेखेका पत्रकारहरुसँग सोधपुछ गरेको थियो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री शर्मामाथि लागेको छ । आरोप लागेसँगै तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । अनुसन्धानका लागि समितिलाई थपिएको म्याद बिहीबार सकिँदैछ । त्यसअघि नै प्रतिवेदन लेखिसक्ने समितिको तयारी छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले यकिन तथ्य भने पहिल्याउन सकेको छैन । समितिकै सदस्यबीच मत नमिल्दा कल डिटेल अध्ययन र लोकेसन ट्य्राक पनि नगरिने सम्भावना छ । सडक र सदनबाटै विरोध भएपछि प्रतिनिधिसभाले असार २२ मा गठन गरेको छानबिन समितिले २८ गते काम थालेको थियोरु। तोकिएको १० दिनमा छानबिन नसकिएपछि एक साता समय थपिएको थियो ।
पूर्वअर्थमन्त्री शर्मामाथि छानविन गर्न गठित समितिले प्रतिवेदन लेख्न थाल्यो
बिहीबारसम्म प्रतिवेदन तयार हुने