वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइने

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाइने भएको छ । मतपत्र छपाइको काम सोमबार सकिएपछि आज जिल्ला पठाइने निर्वाचन आयोगले जानकारी दिएको हो । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ का लागि एक लाख २८ हजार र प्रदेशसभातर्फ बझाङ १ एकको एकका लागि ६८ हजार मतपत्र छापिएको छ । मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको चिह्न र विवरण रहेको छ । इलाम–२ मा १९ र बझाङमा ११ उमेदवार रहेका छन् । इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङका निम्ति ६१ हजार ७४ मतदाता कायम भएका छन् । आयोगले नमुना मतपत्र सार्वजनिक पनि गरेको छ । यसैविच निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी  आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरूत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

प्रतिक्रिया