आईएमएफले नेपालको आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटायो

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपालको आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको छ । कोषले आज एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको हो । गत असोजमा नेपालको अर्थिक वृद्धि ५ प्रतिशत हुने उल्लेख गरेको कोषले अहिले त्यसलाई घटाएको हो । कोषले सन् २०२४ मा एसियाली देशको अर्थिक वृद्धि ४.५ प्रतिशतले हुने अनुमान गरेको छ । आज श्रींगापुरमा सार्वजनिक गरिएको आउटलुकमा सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने अनुमान गरिएको छ ।  सन् २०२४ मा एसिया प्रशान्त समुहका उन्नत अर्थतन्त्र भएको देशको आर्थिक वृद्धि १.६ प्रतिशत हुँदा उदयीमान तथा विकासोन्मुख अर्थतन्त्रको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने कोषले जनाएको छ ।  एसिया प्रशान्त समुह मध्ये भारतको आर्थिक वृद्धि सबै भन्दा बढी हुने अनुमान गरेको छ । सन् २०२४ मा भारतको आर्थिक वृद्धि ६.८ प्रतिशतले हुने कोषले अनुमान छ । भारतपछि बंगलादेशको आर्थिक वृद्धि सबै भन्दा धेरै ५.७ प्रतिशत हुने कोषले जनाएको छ । संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धि सन् २०२४ मा ४.१ प्रतिशत हुने कोषले अनुमान गरेको छ । यो वर्ष जापनको आर्थिक वृद्धि ०.९ प्रतिशतमा सीमित हुँदा कोरियाको २.३ प्रतिशत, अष्ट्रेलियाको १.५ प्रतिशत, न्युजिल्याण्डको १ प्रतिशत श्रीगापुरको २.१ प्रतिशत हुने कोषको भनाइ छ । 
 

प्रतिक्रिया