उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौं  । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा  निधन भएको छ । 

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।

न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको सूचना अधिकारी आचार्यले बताएका छन् । 

न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका बिहीबारका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।
रासस

प्रतिक्रिया