पाकिस्तानी दूतावासद्वारा कश्मीरका जनताको समर्थनमा अन्तरक्रिया कार्यक्रम
काठमाडौं । नेपाल स्थित पाकिस्तानी दूतावासले कश्मीरका जनताको समर्थन र त्यहाँ भारतले गरेको हस्तक्षेपको विरोधमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
̒कश्मीरमा प्रतिरोधको भावनाको सम्मान शीर्षक’मा पाकिस्तानी राजदूतावासले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पत्रकार, लेखक, विश्लेषक तथा मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।
सन् २०१९ अगस्त ५ मा भारतले कश्मीरमाथि हस्तक्षेप गर्दा त्यहाँ आर्थिक,भौतिक तथा मानवीय क्षति समेत भएको थियो । सोही अवसर पारेर दूतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो । पाकिस्तानले भारतले जम्मू र कश्मीरमा अबैध रुपमा कब्जा गरेको बताउँदै आएको छ । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सन्देश पढेर सुनाइएको थियो ।
आफ्नो सन्देशमा, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले भारतले अवैध रूपमा कब्जा गरेको जम्मू र कश्मीरको जनसांख्यिकीय संरचना र राजनीतिक परिदृश्य परिवर्तन गर्न निरन्तर अभियान सुरु गरेको बताएका छन् । उनले पाकिस्तानले जम्मु कश्मीरका जनताको आत्मनिर्णयको अपरिहार्य अधिकारको प्राप्तिको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा उल्लेखित न्यायपूर्ण संघर्षलाई पूर्ण नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी राख्ने पनि शन्देशमा बताएका छन् ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शाहबाज शरीफले भारतले विश्वलाई जम्मु र कश्मीर भारतको अभिन्न अंग हो भनेर विश्वस्त पार्ने प्रयास गरिरहेको तर, अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक तथ्य, नैतिक सिद्धान्त र धरातलको अवस्थाले भारतको निराधार दाबीलाई अस्वीकार गर्ने बताएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री मोहम्मद इशाक दारले भारतले कश्मीरी जनताको मौलिक अधिकारलाई मात्र नभई संयुक्त राष्ट्रसंघको प्रस्ताव र मानवअधिकारको उल्लङ्घन गरेको शन्देशमा उल्लेख गरेका छन् ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले कश्मीरका जनताको न्यायका लागि विश्वको समर्थनको आवश्यकतामा जोड दिए।
कार्यक्रममा सहभागीहरूले कश्मीरको मुद्दा र जम्मु तथा कश्मीरका जनताले भोग्नु परेका दुर्दशालाई संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्ने आवश्यकतालाई जोड दिएका थिए ।
प्रतिक्रिया