हसिनाले देश छाडेपछि सेना प्रमुखद्धारा देशवासीको नाममा सम्बोधन

अन्तरिम सरकार बनाउने घोषणा

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेसंगै सेना प्रमुख जनरल  वाकेर-उज-जमनले देशवासीको नाममा सार्वजनिक सम्बोधन गरेका छन् । बर्तमान परिस्थितिले बंगलादेशमा राजनीतिक संकट उत्पन्न भएसँगे सेनाका प्रमुख वाकेरले देशबासीका नाममा सम्बोधन गरेको  हुन् । सम्बोधनमा प्रमुख वाकेरले हसिनाले देश छाडेको घोषणा गर्दै आन्दोलनकारीहरुलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। उनले अन्तरिम सरकार बनाउन छलफल भइरहेको जानकारी गराएका छन्। अहिले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ। विपक्षी दल बंगलादेश नेशनालिस्ट पार्टी (बिएनपी) का नेताहरूसँग पनि छलफल गरिरहेको अलजजिराको समाचारमा उल्लेख छ। 

उनले अन्तरिम अन्दोलनकारीहरुलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरुलाई न्याय पाउने आश्वसन समेत व्यक्त गरेका छन् ।  प्रधानसेनापतिले धैर्य गर्न सबैमा अपिल समेत गरेका छन् ।

बंगलादेशको राजधानी ढाकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरू प्रधानमन्त्री निवास गणभवनमा समेत प्रवेश गरेका छन्। कोटा प्रणालीको खारेजी माग गर्दै विद्यार्थीले सरकारविरुद्ध असहयोग आन्दोलन चर्किँदै गएपछि सेनाको हेलिकप्टर चढेर हसिना देश छाडेकी छन्। बहिनीसहित हसिना वाजेद चढेको हेलिकोप्टर भारतको अगरताल सहरतर्फ उडेको अलजजिराले जनाएको छ।

असहयोग आन्दोलन नाम दिएर चर्केको आन्दोलनका क्रममा आइतबार मात्रै कम्तीमा ९१ जनाले ज्यान गुमाएका थिए । सोमबार चार लाखभन्दा बढी प्रदर्शनकारीले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको घर र कार्यालय घेराउ गरेका थिए । एक महिनाअघि आन्दोलन सुरु भएदेखि हालसम्म कम्तीमा पनि तीन सयजनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया