सेतीको बाढीले ३९ परिवारको बिचल्ली
कास्की । २७ वर्षीय निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै थिइन । उनको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर छन् ।
छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब गएका उनका श्रीमान फोन सम्पर्कमा छैनन् , उनी भन्छिन् सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बसेका छन् ”, निग्माले भनिन, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगाय, अब छोरीबाहेक मेरो कोही रहेन ।”
सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९ परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् ।
“श्रीमान त छाडे, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, निग्माले भनिन, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ?”
प्रेम विवाह गरेकी निग्माले भनिन, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै यस्तो दुःख भोग्नुपर्यो ।” धादिङबाट पोखरा आएर बसेकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आइरहेका छन् ।
बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालय अन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, निग्माले भनिन् । जग्गा पाइहाले पनि घर बनाउन सक्ने अवस्था छैन ।
शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ ।
रासस
प्रतिक्रिया