नेप्से परिसूचक २२ सय अंक नाघ्यो, ७ अर्बभन्दा बढीको कारोबार

झण्डै एक वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक २९ दशमलव २१ अंकले बढेर २२०४ दशमलव ६१ अंकमा पुगेको हो । सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । आज कारोबार रकम पनि उच्च भएको छ । बुधबार ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । आज १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । आज जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै बढेका छन् । जीवन बीमा समूह ३ दशमलव ०६ प्रतिशत तथा बैंकिङ समूह २ दशमलव ४२ प्रतिशतले बढेको हो । आज बैंकिङ २८, विकास बैंक ७, फाइनान्स ७, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ३७, जीवन बीमा ३१८, उत्पादन ४, निर्जीवन बीमा १११ र अन्य समूह २५ अंकले बढे । माइक्रोफाइनान्स २५ र व्यापार समूह ११ अंकले घटे । आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा जानाकी फाइनान्सको ८ दशमलव ७, प्रभु महालक्ष्मी लाइफको ७, मध्यभोटेकोशीको ५ दशमलव ५ प्रतिशतले मूल्य बढयो । यसदिन समाज लघुवित्तको मूल्य ४ दशमलव ५, साधना लघुवित्तको ४ दशमलव ५ र आत्मनिर्भर लघुवित्तको मूल्य ३ दशमलव ६ प्रतिशतले घट्यो । आज कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।।
 

प्रतिक्रिया