जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा भएको अर्थ मन्त्री पौडेलको भनाई
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।
शनिबार (आज) काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा असरहरू देखिँदै आएको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयास गर्नुपर्ने स्पष्ट पारे ।
उपप्रधानमन्त्री पौडेलले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको बताए । उनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको पनि उल्लेख गरे ।
अर्थ मन्त्री पौडेलले दक्षिण एसिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसाबले विविधतापूर्ण रहेको र जनसङ्ख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठुलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्न सक्ने तर्फ सबै सजग हुनुपर्ने पनि बताए ।
प्रतिक्रिया