जेठ महिनासम्म विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब पुग्यो

गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७ दशमलव ८ प्रतिशतले बढेको हो । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ दशमलव १ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा झरेको छ । बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४ दशमलव १७ प्रतिशत रहेको थियो । यो मूल्यवृद्धिदर २०७८ भदौयताकै न्यून हो । २०७८ भदौमा उपभोक्ता मूल्यवृद्धिदर ३ दशमलव ४९ प्रतिशतमा झरेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९४ प्रतिशत छ । त्यसैगरी, मुलुकको शोधनान्तर स्थिति चालु आवको ११ महिनामा सवा ४ खर्ब पुगेको पनि बैंकले जनाएको छ । शोधनान्तर बचत मात्रै नभएर चालु खाता बचत समेत २ खर्ब नाघेको राष्ट्र बैंकले जनाएको छ । जेठ मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले चालू वर्षको ११ महिनामा आयात र निर्यात नै घटेको जनाएको छ । बैंकले आयात १.८ प्रतिशतले र निर्यात ३ प्रतिशतले खुम्चिएको जानकारी दिएको छ । त्यसैगरी, चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । चालू वर्षको जेठ मसान्तसम्ममा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ । बैंकका अनुसार गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया