दुई पटक सर्किट ब्रेकपछि नेप्से सूचक ४७.०४ अंकले वृद्धि
४ अर्ब ५७ करोडको कारोबार
शेयर बजार आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अंकले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको हो । यसअघि आज दुई पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार केही समयका लागि रोकिएको थियो । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव शेयर बजारमा देखिएको विश्लेषकले बताएका छन । आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । आज हिमालयन डिस्टिलरी कम्पनीको शेयर साढे ८ प्रतिशतले बढेको छ । उच्च अंकले बजार बढेको दिन उपकार लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज २ सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ र ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।।
प्रतिक्रिया