भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित

काठमाडौँको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकको कदमको विरोध गर्दै प्रदर्शन गरेका छन् ।  राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा बुधवार व्यवसायीले  पसल बन्द गरेर विरोध प्रदर्शन गरेका हुन् । सुनलाई विलासी वस्तुमा राखी अतिरिक्त कर लगाउँदा उपभोक्ताहरू मारमा परेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका छन् । 

व्यवसायीहरूले न्यूरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन  गरेका थिए । अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीले विरोध गरेका हुन् । 

यस पटकको बजेट भाषणमा पनि सरकारले सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याएपछि अवैध कारोबार फस्टाउने र व्यवसायी पलायन हुने स्थिति आउने व्यवसायीहरूको दाबी छ । भन्सार तिरेर सुन ल्याउँदा धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै व्यवसायीले सो निर्णय फिर्ता लिन माग गरेका छन् ।
 

प्रतिक्रिया