सेबोन अध्यक्ष छान्न महान्यायाधिवक्ता कार्यालयले दियो २ सुझाव

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रियाका लागि महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ । 
अध्यक्ष छनौट प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छनौट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित राय मागेको थियो ।महान्यायाधिवक्ताको कार्यालयले आवेदन परेका ५ जनामध्येबाट ३ जना छान्न राय दिएको छ । नयाँ प्रक्रियामा जान पनि छनौट समितिलाई अधिकार रहेको राय दिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा। नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति भइदिएनन् । 
सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधबार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर, यस दिन पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा अनुपस्थित भइदिए । 

यसपछि समितिले अध्यक्ष छनोट प्रक्रियाको थप गृहकार्यका लागि के गर्न सकिन्छ रु भनेर महान्यायाधिवक्ताको कार्यालयले सोधेको थियो । प्रतिउत्तरमा महान्यायाधिवक्ताको कार्यालयले समितिलाई दुई विकल्प दिएको स्रोतको भनाइ छ । 

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ४ अनुसार बोर्डको अध्यक्ष छनोटका लागि समितिले अनिवार्य अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ । यही कानुनी प्रावधान अनुसार महान्यायाधिवक्ताको कार्यालयले थप एक जना उम्मेदवारलाई समावेश गरेर अध्यक्षका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न सकिने विकल्प दिएको स्रोतको भनाइ छ । 

अर्को विकल्पको रूपमा अध्यक्ष छनोट प्रक्रियाको पहिलो तयारी नै रद्द गर्न र पुनः अर्को प्रक्रियामा जान महान्यायाधिवक्ताको कार्यालयले विकल्प दिएको स्रोतको दाबी छ ।  

प्रतिक्रिया