बैंकिङ र नगद कारोबारमा उच्च वृद्धि
नेपालमा बैंकमार्फत हुने कारोबार उच्च मात्रामा बढेको देखिएको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाखमा यस्तो कारोबार ४० प्रतिशतले बढेको हो । यस्तै नगद सर्कुलेसनसमेत गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको छ । बैंकमार्फत हुने भुक्तानी र नगद सर्कुलेसन दुवै बढ्नु भनेको अर्थतन्त्र चलायमान हुँदै गएको संकेत मानिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा उच्च आर्थिक गतिविधि हुँदा औपचारिक आर्थिक कारोबार पनि उच्च थियो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको तथ्यांक हर्ने हो भने २०७९ वैशाखमा ५३ खर्ब १८ अर्बको आर्थिक कारोबार भएको थियो । सोही आवको अन्तिम महिना असारमा औपचारिक माध्यमबाट मात्रै ६२ खर्ब २३ अर्बको कारोबार भएको थियो । गत आर्थिक वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलतासँगै औपचारिक आर्थिक कारोबार समेत घट्दै गएको थियो । तर, चालु आर्थिक वर्षको पछिल्लो केही महिना यता भने औपचारिक आर्थिक कारोबारमा सुधार देखिन लागेका छ । गत आव २०७९÷८० को वैशाखमा औपचारिक माध्यमबाट हुने आर्थिक कारोबार ३८ खर्ब ६४ अर्बमा सीमित भएको थियो । चालु आवको पछिल्लो चार महिनाको तथ्यांक हेर्दा हरेक महिना वित्तीय प्रणालीमार्फत हुने आर्थिक कारोबार बढ्दै गएको छ । चालु आवको माघमा ४५ खर्ब ४ अर्बको आर्थिक कारोबार हुँदा फागुनमा ५१ खर्ब ६८ अर्ब र चैतमा ५२ खर्ब ८२ अर्बको कारोबार भएको देखिन्छ । वैशाखमा अझै बढेर ५४ खर्ब ४८ अर्बको कुल कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आवको वैशाखमा बैंकिङ सेटलमेन्ट मार्फत भएको आर्थिक कारोबार ३८ खर्ब ८२ अर्ब मात्रै रहेको चालु आर्थिक वर्षमा वैशाखामा ४० प्रतिशतभन्दा माथिले वृद्धि भएको हो ।।
प्रतिक्रिया