सरकारी ढुकुटी सञ्चित कोष सवा दुई खर्ब रूपैयाँ घाटामा
सरकारले लक्ष्यअनुसार राजस्व संकलन, वैदेशिक सहायता, अनुदान लिन नसक्दा सरकारी ढुकुटी सञ्चित कोष सवा दुई खर्ब रूपैयाँ घाटामा गएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिना जेठ मसान्तसम्म मा सरकारको खर्च ११ खर्ब ८१ अर्ब ४४ करोड ६९ लाख रूपैयाँ पुगेको छ । यसै अवधिमा सरकारले राजस्व, आन्तरिक तथा बाह्य ऋण, अनुदानबाट ९ खर्ब ४४ अर्ब ६९ करोड ९२ रूपैयाँ मात्र संकलन गरेको छ । यसरी हेर्दा सरकारी ढुकुटी २ खर्ब ३६ अर्ब ७५ करोड रूपैयाँ घाटामा छ । सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा यस्तो अवस्था आएको हो । चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ११ महिनामा ९ खर्ब १९ अर्ब २८ करोड ८२ लाख रूपैयाँ मात्र संकलन भएको छ। यो लक्ष्यको ६४.६२ प्रतिशत हो । वैदेशिक अनुदान लिन पनि सरकार असफल देखिएको छ । सरकारले चालु आवमा ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ अनुदान लिने लक्ष्यसहित बजेट बनाएकोमा ११ महिनामा ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख रूपैयाँम मात्र अनुदान प्राप्त भएको छ । चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी छँदा मुलुकको पुँजीगत अर्थात विकास खर्च आधा पनि हुन सकेको छैनरु। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको ११ महिनामा विकास खर्च ४४.६८ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवका लागि ३ खर्ब २ अर्ब ७ करोड रूपैयाँ पुँजीगत खर्च विनियोजन गरेकोमा जेठ मसान्तसम्म १ खर्ब ३४ अर्ब ९७ करोड रूपैयाँ मात्र खर्च भएको हो ।।
प्रतिक्रिया