आठौँ प्रधानमन्त्री कप भलिबल लिग काठमाडौंमा शुरु, पुलिस र हेल्प नेपालको विजय सुरुवात

काठमाडौ । आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु भएको छ  । लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो । हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ को जित निकालेको थियो । तर, तेस्रो सेट भने हेल्प नेपाल २७–२९ ले गुमाउन पुग्यो । चौथो सेटमा बूढानीलकण्ठमाथि हेल्प नेपालले २५–२२ को जित निकाल्यो ।  अर्को खेलमा  पुलिस क्लबले सुदूरपश्चिम स्पोर्ट्स् काउन्सिललाई सोझो सेटमा हराएको छ । पुलिस क्लबले सुदुरपश्चिमलाई २५–२०,२५–१५ र २५–१६ ले हराएको हो । संघका अनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन चार वटा खेल हुनेछ भने महिलातर्फ लिग चरणमा जेठ २२ गते तीन वटा खेल हुँदा अरू दिन दुई वटा खेल हुनेछ । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिगमा पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । यस्तै महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिता जेठ २६ गतेसम्म चल्नेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।
 

प्रतिक्रिया