आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै

उन्नाईस खर्ब रुपियाँ हाराहारीको बजेट आउने

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मङ्गलबार आयव्ययको अनुमानित विवरण बजेट प्रस्तुत गर्दै छ । मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री वर्षमान पुनले १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने बताइएको छ । चालू आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ५१ करोडको बजेट ल्याएको थियो । यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पनि पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चितता गरिएको बताइएको छ । बजेटमार्फत सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि विदेशी लगानी भित्रायाउने, आइटी पार्क निर्माणलाई गति दिने, स्टार्टअपलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम पनि समेटिने छ । साथै निजी क्षेत्रलाई प्रवर्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदानका कार्यक्रम पनि बजेटमा समावेश हुने जनाइएको छ । गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ । यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ । सरकारले नयाँ करको रूपमा नेपालमा ‘हरित कर’ सुरू गर्ने भएको छ । सामाजिक सुरक्षा कार्यक्रमलाई सुधार गर्ने पनि बताइएको छ । पूर्व लडाकुलाई रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बनाउने कार्यक्रममा पनि बजेट छुट्टयाइँदै छ । यसपटक सरकारले कर्मचारीको तलब भने नबढाउने रणनीति लिएको छ । । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट प्रस्तुत गर्न लागेको हो । 

प्रतिक्रिया