सुनको मुल्यमा नयाँ कीर्तिमान, १ लाख ४० हजार ९ सय रुपैयामा कारोबार
नेपाली बजारमा आज पुन सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैया कायम भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १ सय १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आर्थिक मन्दी, मुद्रास्फीतिलगायत अर्थतन्त्र आरालो लागेको बेला पनि लगानीकर्ताले सुनको खरिद गर्दा मुल्य उकालो लागेको हो । पछिल्ला दिनहरुमा चीनले सुनमा व्यापक लगानी वृद्धि गरेकाले पनि सुनको भाउ बढेको हो । विश्व बजारमा रुस र युक्रेनको द्वन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि सुनको मूल्यमा वृद्धि भएको पनि अनुमान गरिएको छ ।।
प्रतिक्रिया