वाणिज्य बैंकहरूको जेठ महिनाको नयाँ ब्याजदर सूची सार्वजनिक

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ ।वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ । सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका हुन् । त्यस्तै ९ वटा बैंकले भने ब्याजदर घटाएका छन् । एभरेस्ट, नबिल, सानिमा, सिद्धार्थ, एनएमबी, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तीन वटा बैंकले भने ब्याजदर बढाएका छन् । ग्लोबल आईएमई, एनआईसी एसिया र प्रभु बैंकले भने ब्याजदर बढाएका हुन् । जेठ महिनामा व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै एनआईसी एसिया र एनएमबी बैंकले ७.८ प्रतिशत तोकेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकको ब्याजदर ८ प्रतिशत पनि नपुग्ने भएको छ । अधिक तरलताका बाबजुत कर्जा प्रवाह न्यून भएपछि बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको १ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६.८ प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् । त्यस्तै रेमिट्यान्स मुद्दती खातामा भने बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । 
 

प्रतिक्रिया