विदेशी मुद्रा सञ्चितिले १५ महिना वस्तु आयात धान्ने
चैत मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति बढेर १९ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको हो । अहिलेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोड रुपैयाँले धनात्मक रहेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७४ अर्ब २८ करोड रुपैयाँले बचतमा पुगेको छ । त्यस्तै चालू आर्थिक वर्षको ९ महिना अवधीमा रेमिट्यान्स विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको छ । ९ महिना अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड भित्रिएको केन्द्रीय बैंकले जनाएको हो । ९ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७ सय २१ रहेको छ ।चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालको मुद्रास्फीतिदर मूल्यवृद्धि ४.६१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तसम्ममा यस्तो मूल्यवृद्धिदर ४.६१ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ८ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि दर ५.२१ प्रतिशतले वृद्धि भएको छ । यस्तै गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर ४.१४ प्रतिशत रहेको छ । गत फागुन मसान्तसम्ममा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि दर ५.९४ प्रतिशत रहेको थियो भने गैरखाद्य तथा सेवासमूहको मूल्यवृद्धि दर ३.५९ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया