गण्डकी प्रदेशमा मन्त्रालयको जिम्मेवारी बाँडफाँट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन् । बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए ।चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए । विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको र संसदमा दुई दिन अगाडि सूचनासमेत नपठाएपछि शुक्रबार कांग्रेसको बहिस्कारका बाबजुद अधिवेशन सुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ । त्यसको भोलिपल्टै शनिबार बिहान अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी सुम्पिएका हुन् ।

प्रतिक्रिया