आइपीएल क्रिकेटमा लखनउ सुपरले चेन्नई किंग्समाथि सहज जित हासिल

काठमाडौं । कप्तान केएल राहुल र क्वीनटन डी कको शतकीय साझेदारीको मद्दतले लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्समाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ ८ विकेटले विजयी बनेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए । उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए । निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाएर टोलीलाई जितसम्म डो¥याए । चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १–१ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । चेन्नईका लागि रवीन्द्र जाडेजाले सर्वाधिक ५७ रनको योगदान दिए । त्यस्तै, ओपनर अजिंक्या रहानेले ३६ रन तथा मोइन अलीले ३० रन बनाए । खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्रसिंह धोनीले ९ बलमा २८ रनको विस्फोटक इनिङ्स खेले  । उनले यस क्रममा ३ चौका र २ छक्का हिर्काए । लखउनका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए । भने मोहसिन खान, यश ठाकुर, रवि विश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए । जितपछि लखनउ ७ खेलबाट ८ अङ्क बटुल्दै अङ्क तालिकाको पाँचौँ स्थानमा छ । समान अङ्क रहेको चेन्नई नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया