नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज बस्दैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् । पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताए । आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने एमालेको विश्वास छ । एमालेका अनुसार परिषद् बैठकमा अध्यक्ष केपी  ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् । बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्नेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ । यो बाहेक यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समेत हिसाबकिताब बैठकमा हुनेछ । दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ । एमालेले प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने तयारी गरेको छ । जसअन्तर्गत बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरूले प्रस्तुत गर्ने दस्ताबेज मोबाइल एपबाटै हेर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । बैठकमा सहभागीहरूको सुझाव समेत एपबाटै लिने व्यवस्था मिलाइने छ ।

प्रतिक्रिया