पत्रकारको उपचारमा सहयोग गर्ने दातालाई सम्मान

काठमाडौं । पत्रकारको उपचारमा सहयोग गर्ने दातालाई सम्मान गरिएको छ । कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गणतन्त्रका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कोषमा एक करोड पुगेको घोषणा गरे । उनी सहित महासंघ केन्द्रका अध्यक्ष बिपुल पोखरेल, झापा अध्यक्ष एक राज गिरीले कोष बृद्धिका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रद्धारा  सम्मान गरेका हुन् । महासंघ झापाले देशमै पहिलो पटक १ करोड राशीको कोष खडा गर्न सफल भएको हो ।  महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण सहित आठ वर्ष अघि कोष निर्माणको अभियान थालिएको थियो । पत्रकार महासंघ झापाका तत्कालिन अध्यक्ष भीम नेम्वाङको कार्यकालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो । तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाख सहित जम्मा ९ लाखवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याइएको हो । कोषमा पत्रकारहरुले जनही तीन हजार जम्मा गरेका छन् भने अधिकांश रकम दाताहरुवाट जुटेको हो ।  दुर्घटना र रोग लागेर बिरामी हुने झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै उपलव्ध गराइंदै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया