महोत्तरीको वनहरुबाट काटको तस्करी बढ्यो

काठमाडौ । वन कर्मचारीहरु गस्ती गर्न छाडेपछि तस्करहरुले महोतरीको साझेदारी र राष्ट्रिय वनक्षेत्रबाट विभिन्न प्रजातिका रुख लगायत काँचो सालका बहुमुल्य रुखहरु धमाधम काट्न थालेका छन् । तस्करहरुले सरकारी कर्मचारीसँगको मिलेमतोमा बर्दिवास नगरपालिका–१२ मा रहेका टुटेश्वरनाथ साँझेदार वन, पर्साही दुङ्के खोला खयरमारा, रामनगर, लक्ष्मिनियाँ, माइस्थान, पाटु, गौरीवास  र सागरनाथ वन विकास परियोजना क्षेत्रको जंगलमा विभिन्न प्रजातिको रुख कटान गर्दै विक्री गर्ने गरेका हुन् । तस्करले दिनदहाडै रूख ढालेर काठ संकलन गरी रातको समयमा सीमाबाट निकासी गर्ने गरेको पाइएको छ । सदरमुकाम जलेश्वरदेखि ४०÷५० किलोमिटर उत्तरमा पर्ने सो क्षेत्रमा भइरहेको जंगल फडानी रोक्न जिल्ला वन कार्यालयले भने कुनै प्रयास गरेको छैन । वनको बढदो विनासबारे जिल्ला वन कार्यालयलाई जानकारी दिने गरेपनि वन अधिकारीले भने बेवस्ता गर्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया