प्रधानमन्त्रीद्वारा संघीयता कार्यान्वयनबारे गठबन्धन दल र मुख्यमन्त्रीहरुसँग छलफल

 

प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा आज सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटामा प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल भएको हो । राष्ट्रिय समन्वय परिषद् दोस्रो बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौँ आएको समय पारेर छलफल भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।  नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।  यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी नाउपा लगायत दलका नेताहरूको सहभागित रहेको थियो ।। 

प्रतिक्रिया