बाँसबारी जग्गा प्रकरण: व्यवसायी अरुण चौधरी रिहा, थापा र ठाकुरलाई पनि जमानीमा छाडियो
बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आज चौधरीसहित अन्य दुई जनालाई रिहा गरेको हो । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धान कार्यमा सहयोग गर्नका लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नपर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो । जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ गते पक्राउ गरेको थियो । जसअनुसार तीनै जना रिहा भएका हुन् ।
प्रतिक्रिया