प्रसाईं समूहद्वारा गौशालामा विरोध प्रदर्शन, धर्मगुरु आचार्य श्री निवास पक्राउ

राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँको गौशालामा बिरोध प्रदर्शन गरेको छ ।  व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले धर्मगुरु आचार्य श्रीनिवासको अगुवाईमा गौशालामा विरोध प्रदर्शन गरेको हो । गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडप समेत भएको छ । प्रहरीले धर्मगुरु आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएको छ । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । अहिले आन्दोलनकारी तितरबितर भएका छन् । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा बिरोध प्रदर्शन गरेका थिए । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया