तेह्र वर्ष पछि पलायो पानी
सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनी स्थित नयाँ पानीमा पानी पलाएको छ ।
यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो ।
अघिल्लो वर्ष पानी पलाउनु पर्ने भएपनि नपलाए पछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो । क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधबार पानी पलाएको सो वडाका वडाअध्यक्ष शशिनाथ आचार्यले बताए ।
पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाए पछि गाउँ घरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँ पानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।
रासस
प्रतिक्रिया