फ्रान्स सम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिका स्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । 

दहालले १३ वर्ष अघि स्थापना गरेको यस उद्योग बाट गत वर्ष देखि तेल लगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेषगरी फ्रान्समा यहाँ बाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । 

“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरे लगायत स्थानीय जडिबुटी बाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपी बाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भने,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरी लगायत बाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले माग अनुसार उत्पादन गरिरहेका छौँ ।”

उनले आफू  ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए। “शुरुशुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्व बारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भने ।

धूपीको तेल प्रतिकिलोग्राम २ हजार ५००, तीतेपातीको तेल प्रतिकिलो ६ हजार, मेन्थाको तेल प्रतिकिलो ७ हजार र धसिंगरेको तेल प्रतिकिलो ७ हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन् । उनले स्थानीय किसान बाट समेत कच्चापदार्थ खरिद गर्ने गरेका छन् ।  “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो ८ र तीतेपाती प्रतिकिलो ४ ले घरमै  गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।  

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीय स्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए । यहाँ बाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ । 
रासस 

प्रतिक्रिया