जिल्ला अदालत रुपन्देहीमा रवि लामिछानेको बयान शुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान शुरु भएको छ । लामिछानेविरुद्ध जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा बयान शुरु भएको हो ।

लामिछानेविरुद्ध बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत आइतबार अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दालाई सघाउन मंगलबार भैरहवा गएका लामिछाने बुधबार बिहान अदालत उपस्थित भएका थिए ।

लामिछानेमाथि न्यायाधीश योगीले बयान लिइरहेका छन् । बयान सकिएपछि बहस हुने र त्यसपछि थुनछेक बहस हुने बताइएको छ । लामिछाने सँग सुप्रीम सहकारीको मुद्दामा ४ करोड बढी विगो माग गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पौष २५ गते जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा पनि उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया