६ महिनाको अवधिमा सरकारले धेरै काम गर्न सकेन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६ महिनाको अवधिमा सरकारले कामको गति लिन नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर सरकारले काम गर्नुपर्छ ।

सरकारको कामकारवाहीबारे उनले असन्तुष्टि जनाउँदै कोइरालाले भने, ‘६ महिनाको यो अवधिमा धेरै काम भएन । जसरी सरकार अघि बढ्नुपर्ने थियो, त्यसरी बढ्न सकेको छैन ।’

संविधान संशोधन ०८७ पछि हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले दुई दलबीचको छलफलले मात्र संविधान संशोधनको विषय नसकिने र संशोधनको विषयलाई जनतामाझ लैजानुपर्ने बताए ।

कांग्रेस–एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्ने बताउँदै उनले लोकतान्त्रिक व्यवस्थामा सरकारले देश चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट चलाउन खोजिरहेको आरोप लगाए ।

सरकारले ल्याएको अध्यादेशको विषयमा असन्तुष्टि व्यक्त गर्दै कोइराला भन्छन्, “माघ १८ गते संसद बोलाइएको छ । संसद खोलेर ल्याउँदा हुने थियो नि ! ६ महिनामा केही भएर सातदिन दश दिनमा के पल्टिहाल्छ ? पहिले संसद बोलाएको भए हुन्थ्यो नि !”

प्रतिक्रिया