जङ्गली हात्ती बस्ती पस्न थाले पछि निजीलाई एकीकृत गर्न माग

चितवन ।  सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । 

स्थानीयको माग पछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तर बाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् ।  
सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । यो सँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् । 

स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्ती भन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन् । निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन् । 

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको माग अनुसार निकुञ्ज प्रशासन सँग छलफल भएको बताए । सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुख सँग पनि छलफल गरिरहको उनले जानकारी दिए । उनले भने, “यस विषयमा सरोकार भएका निकाय र स्थानीय बीच छलफल भइरहेको छ । एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जङ्गली हात्तीले कम दुःख दिने सबैको सुझाव छ ।” 

सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको माग अनुसार काम गर्न तयार रहेको बताए । उनले भने, “निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन् । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।” सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उनको भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताए ।  निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा बासस्थानको व्यवस्थापन गर्न सकिने उनले उल्लेख गरे । दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभाग सँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उनले जानकारी दिए । 

जङ्गली हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्‍याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना शुरु भए सँगै हात्ती बस्ती पस्न थालेका हुन् ।  
रासस 

प्रतिक्रिया