झापामा ६ महिनामा २ सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागूऔषध दुव्र्यसनी र कारोबारमा संलग्न २ सय १३ जनालाई पक्राउ गरेको छ ।  

पक्राउ हुनेहरूको साथ बाट खैरो हिरोइन, गाँजा, चरेस लगायत लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । 

पक्राउ गरिएका अभियुक्त बाट गाँजा ३ दशमलव ६७ किलोग्राम, खैरो हिरोइन ७ सय २० दशमलव ८० ग्राम, ट्रमाडोल ७ हजार २ सय ३७ ट्याबलेट, एन्टिकफ लगायत ट्याबलेट बरामद गरिएको उनले जानकारी दिए । प्रहरीले लागूऔषध सहित मानिस नियन्त्रणमा लिने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  ६ महिनामा जिल्ला अदालत झापामा १ सय ५१ वटा लागूऔषधका मुद्दा दर्ता भइसकेको छ ।

लागूऔषधको कारोबार हुने जिल्लाका विभिन्न स्थान र सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रवक्ता चन्दले बताए ।  “सीमानाका, गाउँबस्ती बाट शहर बजार सम्म लागूऔषधको कारोबार देखियो”, उनले भने, “लागूऔषध नियन्त्रणका लागि हामीले चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”

यसैगरी प्रहरीले छ महिनामा एक सय ४८ जना फरार प्रतिवादी पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । प्रवक्ता चन्दका अनुसार जिल्लाका विभिन्न स्थान बाट भन्सार छली ल्याएको १ करोड ६१ लाख १० हजार सात सय २२ मूल्य बराबरका सामान बरामद गरी मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
रासस 

प्रतिक्रिया