चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।

सदरमुकाम जलेश्वर स्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा  दैनिक एक सय भन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्ष मुनिका बालबालिका र ६० वर्ष माथि उमेरका बढी छन् । 

बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागे सँगै दैनिक एक सय १० देखि एक सय २५ जना सम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिए । यहाँ उपचारार्थ आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताए । 

जिल्लाका गौशाला र दक्षिवर्ती सम्सी स्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिएका छन् । 
रासस 

प्रतिक्रिया