भैरहवा पुगे रवि लामिछाने, बुधबार अदालत हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् ।

प्रहरी स्रोतका अनुसार भोलि (बुधबार) उनी अदालत हाजिर हुनेछन् । लामिछाने बुधबार आफैं अदालतमा उपस्थित हुने बताइएको छ । लामिछाने सँग सुप्रीम सहकारीको मुद्दामा ४ करोड बढी विगो माग गरिएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पौष २५ गते जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा पनि उनी काठमाडौं जिल्ला अदालतबाट ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।

सरकारी वकिलको कार्यालयले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा रविविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया