उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण शुरु

चितवन ।  इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । 

गढीको भौतिक संरचना पुनर्निर्माण अन्तर्गत भग्नावशेष अवस्थामा किल्ला भित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गरेका हुन् । 

एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण शुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । निर्माण कम्पनी सँग  २०८२ जेठ १५ गते भित्र निर्माण सक्नेगरी सम्झौता भएको हो ।  

पुरातत्व विभागको मापदण्ड अनुसार पुरानै संरचनामा कोतघर पुननिर्माण गरिने अध्यक्ष गुरुङले बताए । उनले भने, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचना अनुसार भग्नावशेष अवस्थामा रहेको कोतघरको पुनर्निर्माण शुरु गरेका हौँ ।” उनका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोज स्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको माग अनुसार फोटो खिच्नका लागि आकर्षक स्थल बनाउन गढीको बाहिर भागमा ‘आईलभगढी’ लेखेको संरचना निर्माण गरिएको छ । 

कोतघर निर्माण सँगै गाउँपालिकाले नेपाली सेना सँग समन्वय गरी उपर्दाङ्गढीमा तोप सहित पुराना हाततियार राखिनेछ ।  साथै ढुङ्गेधारा, ढुङ्गाको सिँढी बाटो समेत निर्माण गरिने योजना रहेको अध्यक्ष गुरुङले बताए । उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व  झल्किने गरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष  गुरुङको भनाइ छ । 

यहाँ कोतघर निर्माण सँगै तोप सहित पुराना हातहतियार राखेपछि पर्यटकको आवामगन बढ्ने र गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताए । अहिले उपर्दाङ्गगढी घुम्न आउने पर्यटक बाट वार्षिक सात देखि आठ लाख सम्म टिकट शुल्क बाट आम्दानी हुँदै आएको उनले बताए।   

तत्कालीसन समयमा उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भए अनुसार  तल्कालीन बाइसे चौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौज विरुद्ध युद्धका बेला सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गरेका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।  

रासस 

प्रतिक्रिया