रैथाने खानाको बजारीकरणमा ध्यान दिन आवश्यक छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कृषि जैविक विविधताको संरक्षण तथा प्रवद्र्धनका साथै रैथाने खानाको बजारीकरणमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक भएको बताएका छन् ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले आयोजना गरेको तेस्रो ‘राष्ट्रिय जैविक विविधता सप्ताह–२०८१’ को समापनका अवसरमा आज उनले सरकारले ल्याउन लागेको कृषि ऐनमा कृषिको जैविक विविधताको विषय समेटिने विश्वास व्यक्त गरे ।

महामन्त्री थापाले कृषि मन्त्रालयले बनाउँदै गरेको नयाँ ऐनमा रैथाने बीउबिजन, उत्पादन र कृषि जैविक विविधताको संरक्षण कृषिको मूल आधारको रुपमा हेरिनुपर्नेमा जोड दिए ।

उनले भने, “जलवायु परिवर्तन र वन संरक्षणको विषय निकै महत्वका साथ उठाइने गरिएको छ, तर कृषि जैविकताको विषय भने ओझेलमा परेको छ, अहिले कृषि ऐन बनिरहेको सन्दर्भमा यसलाई केन्द्रमा ल्याउने अवसर आएको छ, यसका सबैको सक्रियता चाहिन्छ ।”

महामन्त्री थापाले विदेशी पर्यटकलाई नेपालको रैथाने खानाको परिकारको स्वाद चखाउन सके नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले सबै जातजाति र समुदायको खाना, रहनसहन, पाककला र संस्कृति जोडेर पर्यटन प्रवद्र्धन गरिनुपर्ने बताए ।

प्रतिक्रिया