चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
सर्लाही । सर्लाहीको लालबन्दी स्थित पूर्वपश्चिम राजमार्ग सँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेला माथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्ष देखिको दृश्य हो ।
सधैँ चियाका पारखीको भीडले घेरिरहने चिया पसले हुन् विनोद साह । लालबन्दी नगरपालिका–९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचान समेत बनाएका छन् । बिहान ४ देखि अबेर साँझ सम्म उनको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ ।
“दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्ष देखिको मेरो दैनिकी यही हो”, साहले भने– “कहिले काहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्छन् ।” विसं २०५९ मा लालबन्दी नगरपालिका स्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यामिक विद्यालय बाट एस.एल.सी. उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउनु शुरु गरेका थिए । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५ पुख्र्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।
“घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो”, उनले भने, “त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यस बाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।”
आमाबुबालाई सघाउँदा सघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न शुरु गरेको साहले बताए । “ज्योतिषले हात हेर्दा होटल व्यवसाय फाप्छ भनेका थिए”, उनले भने, “होटल खोल्न परिवार सँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार शुरु गरेँ ।” यसै बाट परिवारको गुजारा सँगै घरबास जोडेको उनले बताए । साहले बिहान सबेरै देखि राति अबेर सम्म दैनिक झण्डै तीन सय कप चिया बेच्ने गरेको सुनाए । त्यस बाट उनले दैनिक ६ हजार सम्मको कारोबार गर्छन् ।
चियाका लागि दैनिक डेरी बाट ४० देखि ५० लिटर दूध किनेर ल्याउने गरेको साहले बताए । “प्रतिलिटर दूधको ९० तिर्नुपर्छ”, उनले भने, “एक कप चिया २० मा बेच्छु ।” उनका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रुपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको सुनाए ।
“त्यतिबेला घडेरी किन्दा एक लाख तिरेँ”, उनले सुनाए, “विस्तारै विस्तारै गरेर ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिले सम्म समस्या भएको छैन ।” महिनामा एक लाख ५० हजार भन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । शुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसल बाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिना अघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन् ।
साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारका बारेमा सोच्न नसकेको उनी बताउछन् । लालबन्दी साहको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन । उनी पनि चिया खान आउने साना ठूला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।
रासस
प्रतिक्रिया