रविसहित १४ जना विरुद्ध मुद्दा दायर गर्न चितवन प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौं । साहारा चितवन सहकारी लिमिटेडको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर रायसहितको प्रतिवेदन प्रहरीले बुझाएको छ ।

पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको हो । प्रहरीका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेला प्रहरीले लामिछानेलाई १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।

साहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा गत मंसिर ५ गते रविसहितका व्यक्तिहरुविरुद्ध पुरक जाहेरी दर्ता भएको थियो । यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाल समेत प्रतिवादी छन् ।

प्रतिक्रिया