विपन्न वर्गलाई ऊर्जा विकास मार्फत समृद्धिको यात्रामा जोड्छौँ : मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उनले जलविद्युत् केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताए ।
“अहिले हुनेखाने वर्गले मात्र जलविद्युत् केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको छ”, मन्त्री खड्काले भने ।
उत्पादित विद्युत्को बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । मन्त्री खड्काले पहिले जलविद्युत् क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत् केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताए ।
उनले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे ।
“सरकारले निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको छ । ऊर्जा उत्पादनका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्छ । यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिए पनि हाल प्रसारण लाइनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको छ । यसको लाभ लिन निजी क्षेत्रलाई आग्रह गर्दछु”, उनले भने ।
प्रतिक्रिया